Press release Nepali

नेपालमा दिगो अर्थतन्त्रका लागि हरित हाइड्रोजन सम्बन्धी राष्टिय नीतिको आवश्यकता

(सन्दर्भ : हाइड्रोजन तथा फ्यूल सेल दिवस)

काठमाडौं विश्वविद्यालय, धुलिखेलमा अवस्थित ग्रीन हाइड्रोजन ल्याबले ८ अक्टोवरका दिन हाइड्रोजन दिवसको अवसर पारेर आयोजना गरेको प्यानल छलफलमा नेपालको चौतर्फी विकासको लागि हरित हाइड्रोजन उत्पादनको आवश्यकताबारे विज्ञहरुले धारणा व्यक्त गरेका छन् । कार्यक्रमको उद्देश्य शिक्षा, उद्योग, नीति निर्माता र राजनीतिज्ञलाई साझा मञ्चमा ल्याउनु र नेपालमा हाइड्रोपावरबाट ग्रीन हाइड्रोजन उत्पादन, ओसार पसार, भंडारण र त्यसको समुचित प्रयोगका लागि सम्भावित साधनहरु, विधि तथा राष्टिय नीतिबारे छलफल गर्नु रहेको थियो । धेरै जसो विकसित देशहरु भविष्यको लागि वैकल्पिक उर्जाकालागि नीति विकास गर्ने क्रममा रहेको हुँदा नेपालमा पनि यसबारे थालनी गर्ने यो समय नै उपयुक्त रहेको सन्दर्भमा प्रस्तुत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । उक्त अवसरमा आयोजित प्यानल छलफलमा देशका ऊर्जा क्षेत्रमा आवद्ध विज्ञहरुले आ(आफ्नो विचार राख्नु भएकोे थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राज्ञहरु प्रा.डा.भोला थापा, डा.बिराज सिंह थापा, इन्जिनियरिगं अध्ययन संस्थान, त्रि.वि.का प्राज्ञहरु प्रा.डा.भक्त बहादुर आले, प्रा.डा.अमृतमान नकर्मी, बुटवल पावर कम्पनीका उपाध्यक्ष प्रतिकमान सिंह प्रधान, लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य डा.बिष्णु प्रसाद गौतम, रा.यो.आ.का पूर्व उपाध्यक्ष प्रा.डा.गोविंद राज पोखरेल, पूर्व वातावरण विज्ञान तथा प्रविधि मन्त्री ई.गणेश शाह लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

काठमाडौं विश्वविद्यालयका प्रा.डा.भोला थापाले सबैलाई स्वागत गर्दै नेपालमा अहिले विद्यामान ऊर्जाको अतिप्रवाह न्यूनीकरण र खेर गैरहेको ऊर्जाको सदुपयोगको निम्ति हरित हाइड्रोजनको उत्पादन उपयुक्त रहने कुरामा जोड दिनु भयो । उहाँले ऊर्जा क्षेत्रमा आवद्ध सम्पूर्ण निकायहरुको यस बिषयमा चाड़ो ध्यानाकर्षण गराइ सरकारको नीति नियम र भावी परियोजनाको बिषयमा ग्रीन हाइड्रोजन उत्पादन विषय समावेश गर्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरा बताउनु भयो । उहाँले देशको विकास, रोजगारी सृजना, देशलाई उर्जामा निर्भर बनाउन, कृषिमा टेवा पूर्याउन, नयाँ उद्योगको बाटो देखाउनका लागि हामीलाई हाइड्रो बाट हाइड्रोजनमा जानुपर्ने अपरिहार्य रहेको कुरामा जोड दिनु भयो । उहाँले यो नयाँ प्रविधि भएको हुनाले विश्वविद्यालय स्तरबाट अनुसन्धान र विकासको आवश्यकता रहेको र सरकार तथा उद्योग क्षेत्रको सहयोगका साथ अघि बढ़न सहज हुने भएकोले सम्पूर्ण क्षेत्रबाट प्रोत्साहन र सद्भावको आपेक्षा रहेको स्पष्ट पार्नुभयो ।

रा.यो.आ.का पूर्व उपाध्यक्ष हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डा.गोविंद राज पोखरेलले हाइड्रोजन उत्पादनको भविष्यलाई साकार बनाउन नव ऊर्जाको बिषयलाई लिएर नेपालमा थुप्रै प्रगतिशील र अग्रगामी योजना र नीतिहरु रहेको बताउनु भयो । उहाँले नेपालमा हाल प्रविधिको विकासले फड़्को मारि नसकेको हूदा अहिलेको समयमा सानो स्तरको सूचक परियोजना अनुकूल रहने बताउनु भयो । छलफलको क्रममा उहाँले यो परियोजना सरकार, निजी र शैक्षिक क्षेत्रको समन्वयमा हुनु पर्ने जसले हाइड्रोजनको प्रयोगको व्यावहारिकता पहिल्याउन मद्दत गर्ने बताउनु हुँदै यस्तो परियोजनाले विभिन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र विस्तरित योजनाको ढोका खोल्ने राय व्यक्त गर्नुभयो ।

हरित हाइड्रोजनको प्राविधिक पक्षबारे जानकारी दिनुहुँदै काठमाडौं विश्वविद्यलयका विषय विज्ञ तथा ग्रीन हाइड्रोजन ल्याबका टीम लीडर डा.विराजसिंह थापाले संसार भर भइरहेको हाइड्रोजन प्रविधिको विकास र लगानीको अवस्थाका साथै वातावरणमैत्री ऊर्जाको महत्वबारे प्रकाश पार्नु हुँदै यसको अनुसन्धान र विकासमा नेपाल पनि पछि पर्न नहुने कुरामा जोड़ दिनुभयो । काठमाडौं विश्वविद्यालयले स्थापनाकाल देखि नै देश र समाजको रुपान्तरणका निमित्त चाहिने प्रविधि र प्राविधिकको उत्पादनका निमित्त आफ्ना शैक्षिक कार्यक्रम तथा अनुसन्धान गतिविधिहरु सञ्चालन गर्नमा अग्रणी स्थानमा रहेको स्मरण गर्दै देशको आजको ऊर्जा तथा आर्थिक आवश्यकतालाई माथि उकास्नका लागि हाइडोजन प्रविधिलाई संस्थागत रुपमा अनुसन्धान र विकास गर्ने उद्देश्यका साथ ग्रिन हाइडोजन ल्यावको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा ऊर्जाको आयात कम गर्न, निर्यातमा टेवा पुर्याउन, विकासको दिशामा अग्रसर गराउन यो प्रबिधि अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

प्रस्तुत विषयमा थप प्रकाश पार्नु हुँदै प्राध्यापक भक्त बहादुर आलेले विगतमा नेपालमा भएका सोध र अनुसन्धानका बारेमा जानकारी गराउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिंग अध्ययन संस्थानमा भएको अनुसन्धानको बिषयमा वताउनु हुँदै यस प्रविधिको कमी कमजोरी तथा भविष्यमा हुन लागेको विकासले व्यहोर्नु पर्ने चुनौतिबारे छलफल गर्नुभयो ।

प्रस्तुत बिषयको आर्थिक पक्षको जानकारी दिनुहुँदै प्रा.डा.अमृत मान नकर्मीले नेपालको ऊर्जा निर्भरता र ऊर्जा सुरक्षाबारे प्रकाश पर्नुभयो । उहाँले नेपाल ऊर्जा सुरक्षा अन्तर्गत बिश्वमञ्चमा निकै पछि परेको र इन्धन आयातमा भारतसंग निर्भर रहनुको बाध्यता बारे बताउनु हुँदै अहिलेको समयमा हाइड्रोजन प्रविधि आर्थिक रूपमा प्राप्त हुन नसके पनि २०३० सम्ममा अरु ऊर्जासंग प्रतिस्पर्धा गर्न सक्ने आँकलन गर्नुभयो । उहाँले यो प्रविधिको विकासमा र नेपाल सुरक्षाको विकासको लागि हाइड्रोजन भण्डारणको आवश्यकता पहिल्याउदै, सम्बन्धित नियमनकारी निकायको संलग्नताको आवश्यकतामा जोड़ दिनु भयो ।

औद्योगिक क्षेत्रको संलग्नताको बिषयमा आफ्नो भनाइ राख्नु हुँदै बुटवल पावर कम्पनीका उपाध्यक्ष श्री प्रतीक मान सिंह प्रधानले नेपालमा हाइड्रो उत्पादनको अवस्थाको बारेमा जानकारी दिनु भयो । उहाँले नेपालको हाइड्रोपावर परिपक्व अवस्थामा आइसकेको र यसलाई परिपक्व बनाउनुमा काठमाडौं विश्वविद्यालयको विशेष भूमिका रहेको बताउनु भयो । उहाँले नेपालमा थुप्रै निजी क्षेत्रको हाइड्रोपावर परियोजना घाटामा चल्नू परेको विषय ध्यानाकर्षण गराउनु हुँदै अब नेपालमा हाइड्रोपावर क्षेत्रको विकासका लागि नयाँ प्रविधिको जरूरत रहेको तर व्यापरिक दृष्टिकोणले सफल हुनको लागि हरित हाइड्रोजनले थप चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको बारे सचेत गराउनु भयो । उहाँले यो प्रविधि निजी क्षेत्रले आत्मसात गर्नको लागि यसको थप विश्वसनीय, लाभदायक, परिपक्व योजनायुक्त हुनुपर्नेमा जोड दिनुहुँदै यस्को सफलताको जिम्मा अब शैक्षिक क्षेत्रको मात्र नभएर सबै क्षेत्रको रहेको धारणा राख्नु भयो।

प्रस्तुत बिषयमा लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य डा.बिष्णु प्रसाद गौतमले हरित हाइड्रोजनको महत्व नेपालको ऊर्जा क्षेत्रमा मात्र नभएर कृषि, औद्योगिक क्षेत्रमा रहेको र हालसम्म विकासका आयोजनाहरुमा सरकारले योजना, नीति नियममा विशेष ध्यान नादिएकोले नेपाल पछि परेको बताऊनु भयो । उहाँले नेपालमै उत्पादन हुने हरित हाइड्रोजन रासायनिक मल बनाउन प्रयोग गरे कृषि क्षेत्रमा विदेशी निर्भरता कम हुनुका साथै यो रासायनिक मल उद्योगले घाटामा चलेका हाइड्रोपावरलाई माथि उकास्न मद्दतगर्ने बताउनु भयो । उहाँले नेपाली कृषकहरुले दशर्कौ देखि भोग्दै आएको मल अभावलाई निर्मूल गर्ने र ऊर्जालाई निर्यातमात्र नगरेर स्वदेशमै उपभोग गर्न सकिने बताउनु भयो । उहाँले अरुको देखासिकी नगरी आफ्नै योजना विकास र विदेशी प्रविधिको आत्मसाथ गर्नु पर्ने र यो वा त्यो छनोट गर्ने पारिपाटीबाट यो र त्यो विचबाट उपाय निकाल्नु पर्ने आवश्यकतामा जोड दिनुभयो । यसका लागि राष्टको समग्र विकासको निमित्त उचित योजना र निर्माणमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका औंल्याउनु भयो । अहिलेको अवस्थामा यो प्रविधि महंगों हुन गएपनि मूल्य सधै समान नरहने र समय संग कम हुदै जाने र अन्यौल वा भ्रममा परी विकासको कामलाई पछि सार्न नहुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा आफ्नो विचार राख्नु हुँदै पूर्वमंत्री ई श्री गणेश साहले नेपालमा प्रथम पटक मनाइएको हाइड्रोजन दिवसका वक्ता तथा सहभागीहरुले नयाँ इतिहास रचेकोमा नयाँ प्रविधिको विकासको लागि शैक्षिक क्षेत्रसंग मिलेर अनुसन्धान र विकास हुनुपर्ने र सम्पूर्ण सरोकारवाला निकायहरुसंग मिलेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले अघिपछि र सरकारमा रहँदा समेत विज्ञान तथा प्रविधिको समग्र विकास तथा विश्वविद्यालयको सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न आफूले निरन्तर पहल गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा सम्पूर्ण वक्ताहरुको मन्तव्य पश्चात् सहभागीहरुसंग छलफल तथा प्रश्नोत्तरको क्रममा विभिन्न कोणबाट हरित हाइड्रोजन प्रविधिको नेपालमा आवश्यकता र चुनौतिको बारेमा बहस भयो । यसक्रममा बुटवल पावर कम्पनीका तर्फबाट ई.प्रतिकमान प्रधानज्युले प्यूठानमा रहेको झिम्रुक जलविद्युत आयोजनामा भएको पुर्वाधार र अतिरिक्त विद्युत उपयोग गरी ५०० कि.वा. क्षमताको हाइड्रोजनको उत्पादन गर्ने प्रविधि जडान गर्न प्रतिवद्ध रहेको जानकारी गराउनु भयो । सोही क्रममा लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य डा.बिष्णु प्रसाद गौतमले लुम्बिनी प्रदेशको अन्तर्गत आफ्नै श्रोत र साधनहरुका साथ यूरिया मल उत्पादनका लागि अधययन गर्ने विषय प्रदेशको वार्षिक योजना तथा कार्यक्रममा समेत समावेश भै सकेको जानकारी गराउनु भयो । उहाँले हाइड्रोजन प्रविधिले नेपालमा पनि भित्र्याउनु पर्ने समय आइसकेको र त्यसका निमित्त विभिन्न तहले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता रहेको राय व्यक्त गर्नुभयो । यसैविच प्रा.डा.भोला थापाले लुम्बिनी प्रदेश मै भएको झिम्रुक जलविद्युत आयोजनाबाट उत्पादित हाइड्रोजनलाई सोही प्रदेशमा यूरिया मल उत्पादन गर्नलाई चाहिने आवश्यक प्रविधि सीप र विज्ञता यस ग्रिन हाइड्रोजन ल्यावबाट उपलब्ध गराउने दिशामा आफ्ना गतिविध बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै स्कुल अफ इन्जिनियरिंगका डीन डा.डम्बरबहादुर नेपालीले हाइड्रोजन उत्सर्जन र सो बाट यूरिया मल उत्पादन गर्ने प्रविधिको विकासका निमित्त चाहिने अनुसन्धान गर्नका लागि आवश्यक लगानी जुटाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नु भयो । छलफल सत्रको अन्त्यमा ग्रिन हाइड्रोजन ल्यावका टीम लिडर डा.विराज सिंह थापाले छलफलको निष्कर्ष निकाल्दै यस प्यानल छलफलहरुका उपलब्धीहरुलाई संस्थागत गर्दै भविष्यमा अझ वृहत र नीति निर्माण तहमा बहसलाई पुर्याउनका निमित्त यस कार्यक्रम कोशे ढुगांका रुपमा रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिगंका डीन डा.डम्बर बहादुर नेपालीले आफ्नो महत्वपूर्ण समय आजको संवेदनशील विषयका लागि प्रदान गर्नु भएकोमा कार्यक्रममा संलग्न सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिंगले पहल गरेको हरित हाइड्रोजन प्रविधिले देशको ऊर्जा तथा खाद्द सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा थप सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

श्रोत : डा.विराज सिंह थापा,
काठमाडौं विश्वविद्यालय, धुलिखेल ।